सोनाम ल्होछारबाट नेपाली एकता थप सुदृढ : राष्ट्रपति भण्डारी

सोनाम ल्होछारबाट नेपाली एकता थप सुदृढ : राष्ट्रपति भण्डारी

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, माघ ८ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले तामाङ समुदायको पर्व सोनाम ल्होछारका अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ।

उहाँले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होछारजस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनुका साथै यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्‍वास व्यक्त गर्नुभएको छ।

यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ल्होछारको अवसरमा देश–विदेशमा रहनुहुने सम्पूर्ण ल्होछारप्रेमी दिदीबहिनी, दाजुभाइ सबैलाई सुस्वास्थ्य, समृद्धि, प्रगति र समस्त मानव जगत्को कल्याणका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।

नेपालमा ऐतिहासिक एवं वैज्ञानिक महत्त्व बोकेका थुप्रै पर्व रहेको उहाँले बताउनुभएको छ। ल्होछार पर्वको अवसरमा एक शुभकामना दिनुहुँदै प्रधानमन्त्रीले यहाँ बसोबास गर्ने सबै जातजातिको आआफ्नो भिन्नभिन्न परम्परा, रीतिरिवाज र संस्कृति रहेको बताउनुभयो।

यसैबीच पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोनाम ल्होछारको अवसरमा शुभकामना व्यक्त गर्दै यो पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ।

उहाँले तामाङ जातिको अत्यन्त महत्त्वपूर्ण पर्व ‘सोनाम ल्होछार’का अवसरमा शुभकामना दिँदै पर्वहरूले सामाजिक सद्भावना बढाउँदै आएको बताउनुभएको छ। सदैव एकले अर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान र आदर गर्ने हाम्रो आफ्नै विशिष्ट पहिचान पनि रहेको उहाँले बताउनुभएको छ। साथै तामाङ समुदायको नयाँ वर्षको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका तामाङ समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा उहाँले शुभकामना दिनुभएको छ।