प्रतिपक्षमा बसेर रचनात्मक भूमिका खेल्छौं : ज्वालाकुमारी साह

प्रतिपक्षमा बसेर रचनात्मक भूमिका खेल्छौं : ज्वालाकुमारी साह

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) की नेतृ एवम् निवर्तमान कृषिमन्त्री ज्वालाकुमारी साहले प्रधानमन्त्री पुष्पकमल दाहाल मुलुकको नेतृत्वमा रहुञ्जेलसम्म देश र जनताले दुःख र सास्ती पाईरहने आरोप लगाएकी छिन् । उनले प्रचण्डलाई महाभारतमा दुर्योधनको जन्म हुँदा ज्योतिषले भनेजस्तै कुलंघारको संज्ञासमेत दिईन् ।

आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेतृ साहले प्रचण्डप्रति आक्रोश पोख्दै भनिन्–‘महाभारतमा दुर्योधनको जन्म हुँदा ज्योतिषीले भनेका थिए–यो कुलंघार हो । यो रहुञ्जेलसम्म यसले परिवार पनि नाश गर्छ । देशलाई पनि नाश बनाउँछ । जनतालाई पनि नाश बनाउँछ । यसले पूरै देशलाई स्वाह बनाउँछ भनेको थियो । मलाई त त्यस्तो लागिरहेको छ कि, अहिले जुनखालको अनुभुतिले देखाएको छ–जबसम्म प्रचण्ड नेतृत्वमा रहनुहुन्छ जनताका सपना, घाईते, योद्धा, जनयुद्धमा १७ हजारले सहादत प्राप्त गरेको छ । सबैको सपनामा चोट पुग्छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले प्रधानमन्त्री प्रचण्डलाई धोकेबाजको संज्ञा पनि दिईन् । उनले भनिन्–‘प्रचण्ड उहाँको आफ्नो व्यवहारले धोकेबाज देखिनुभएको छ । अब प्रचण्डसँग हाम्रो सहकार्य हुँदैन् । हामी हिजोपनि एक्लै चुनाव लडेको हो । देशलाई अघि बढाउन एमाले एक्लै सक्षम छ ।’

हिजोमात्रै मन्त्री पदबाट राजीनामा दिएकी साहले आफ्नो पार्टीले प्रचण्डलाई प्रधानमन्त्री बनाएर ठूलो गल्ती गरेको पनि स्पष्ट पारिन् । उनले भनिन्–‘अब त उहाँको बुद्धि पलाउला भनेको त, प्रचण्डमा त्यस्तो देखिएन । सहिदका सपना पूरा होलान भनेको त उहाँ व्यक्तिगत स्वार्थ र काममा लाग्नुभयो ।’

उनले एमालेको सचिवालय बैठकबाट मन्त्रीहरु फिर्ता बोलाउने निर्णय भएपछि आफूहरु हिजै सरकारबाट बाहिरिएको स्पष्ट पारिन् । उनले थपिन्–‘हामी सेवकको भूमिका निर्वाह गर्छौं । प्रतिपक्षमा बसेर रचनात्मक भूमिका खेल्छौं । नीतिगत रुपमा आफ्ना कुरा राखेर अघि बढ्छौं ।’
उनले आफ्नो पार्टीले राष्ट्रपतिमा अघि सारेको सुवासचन्द्र नेम्वाङको जित सुनिश्चित् रहेको दाबी गरिन् ।

उनले भनिन्–‘उहाँको व्यक्तित्व र क्षमताको हिसाबले, बोली, व्यवहार अनि वचन राम्रो छ । राष्ट्रपतिको भूमिकामा उहाँ सफल हुनुहुनेछ । हामी उहाँलाई सफल बनाउने प्रक्रियामा लागेका छौं । उहाँको जित सुनिश्चित् छ ।’ उनले एमालेसहितको गठबन्धन तोडिनुमा प्रधानमन्त्री प्रचण्ड नै मुख्य दोषी भएको दाबी गरिन् । उनले भनिन्–‘प्रचण्डले आफ्नो खुट्टा दरो नटेकेको कारण देश दुर्घटनामा जान लागेको आभास हुँदैछ ।’

सो क्रममा उनले आफूले कृषिमन्त्रीका रुपमा छोटो अवधिमा गरेका राम्रा कामका फेहरिस्त सुनाएकी थिईन् । उनले उखुको भाउ प्रति–क्विन्टल २० रुपैयाँको दरले निर्णय गरेको सुनाईन् । आफूले जनतालाई केन्द्रमा राखेर निर्णय लिएको उनको दाबी थियो ।

बर्डफ्लुबाट पीडित कुखुरा व्यवसायीहरु छट्पटाईरहेको अवस्था उल्लेख गर्दै उनीहरुलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्ने निर्णय गराएको पनि साहले सुनाईन् । यस्तै, विश्व बैंकको सहायतामा (४० मिलियन डलर) ग्रामिण उद्यम तथा आर्थिक विकास आयोजनाको लागि ६ प्रदेशका ३५ जिल्लाका १७१ पालिकामा कार्यक्रम अघि बढाउन सुरु गरेको पनि उनले सुनाईन् ।

उक्त योजना अघि बढ्दा युवाहरुलाई रोजगारी सिर्जना हुने उनको भनाई छ । उनले दूधको मूल्य पनि बढाएको उल्लेख गरिन् । आफू मन्त्री हुँदै गर्दा मुलुकमा खाद्य, मलको ठूलो हाहाकार थियो र त्यसमा पनि मल्हम लगाउने काम गरेको उनको दाबी थियो ।