नेपाल प्रहरी–एभरेष्ट बैंक छात्रवृत्ति अक्षयकोष स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गोरखापत्र ताजा, खुला, शिक्षा

नेपाल प्रहरी–एभरेष्ट बैंक छात्रवृत्ति अक्षयकोष स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गोरखापत्र ताजा, खुला, शिक्षा

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रहरी र एभरेष्ट बैंक लिमिटेडबीच ‘नेपाल प्रहरी–एभरेष्ट बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

आइतबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच नेपाल प्रहरीको तर्फबाट नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक केदार ढकाल र एभरेष्ट बैंकको तर्फबाट बैंकका नायब महाप्रबन्धक केशव राज पौडेलले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।

त्यस्तै, एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले अक्षय कोष स्थापनाका लागि २५ लाख रुपियाँको चेक प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई हस्तान्तरण गर्नुका साथै समझदारीपत्र आदान प्रदानसमेत गर्नुभएको छ ।

कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले सम्झौताका लागि एभरेष्ट बैंकलाई धन्यवाद दिनुहुँदै यसबाट बढीभन्दा बढी प्रहरी कर्मचारीका सन्ततीहरु लाभान्वित हुने विश्वास व्यक्त गर्नुभएको छ । एभरेष्ट बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल प्रहरीलाई विभिन्न सहयोग गर्दै आएको कारण प्रहरीको कार्य सञ्चालनमा सहजता ल्याउन थप टेवा पुगेको उहाँले उल्लेख गर्नुभयो ।

प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरीले बैंकहरुलाई कानुनबमोजिम पु¥याउने सुरक्षा र सहयोग निरन्तर प्रदान गर्दै आएको स्मरण गर्नुभयो । सम्झौताले तल्लो दर्जाका प्रहरी कर्मचारीहरूको मनोबल उच्च हुने चर्चा गर्दै आगामी दिनमासमेत नेपाल प्रहरी र बैंकबीच आपसी सहयोग आदान प्रदान हुने अपेक्षा उहाँले व्यक्त गर्नुभयो ।

यसैगरी, एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको चर्चा गर्दै अहोरात्र नागरिकको जिउधनको सुरक्षामा खटिने नेपाल प्रहरीलाई योगदान गर्न पाउँदा थप सन्तुष्टि प्राप्त भएको बताउनुभयो । सम्झैताबाट बढीभन्दा बढी विद्यार्थीहरू लाभान्वित हुने अपेक्षा गर्दै उत्पादित जनशक्तिबाट भविष्यमा देश निर्माणका लागि थप सहयोग हुने उहाँले उल्लेख गर्नुभयो ।

सम्झौता अनुसार नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाले नेपाल पुलिस स्कुलहरूमा अध्ययन गर्ने बहालवाला, अवकाश प्राप्त र अमर÷शहीद एवम् अशक्त प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दार दर्जासम्मका उत्कृष्ट अङ्क प्राप्त गर्ने प्रहरी कर्मचारीका सन्ततीहरूलाई कम्तीमा दुई जना जेहेन्दार विद्यार्थीलाई वार्षिक शुल्क, परीक्षा शुल्क, स्टेशनरी र आवासीय सुविधा भएको स्कुलमा आवास र खाना खर्च तथा आवासीय सुविधा नभएको स्कुलमा गाडी भाडासमेत निरन्तर उपलब्ध हुनेछ ।

त्यस्तै, छात्रवृत्ति प्रदान गर्नका लागि कम्तीमा २५ लाख रूपियाँ एभरेष्ट बैंकले प्रहरी कल्याण कोषको नाममा ‘नेपाल प्रहरी–एभरेष्ट बैंक छात्रवृत्ति अक्षय कोष’ को स्थापना गर्ने र उक्त खाता सञ्चालन तथा व्यवस्थापन प्रहरी कल्याण कोषले गर्नेछ । आगामी शैक्षिक सत्र २०८० वैशाखदेखि लागू हुने यो सम्झौता अनुसार नेपाल पुलिस स्कुलका कक्षा ४ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूलाई उपलब्ध हुने र नेपाल पुलिस स्कुलहरूले विद्यार्थीहरूको समयानुकूल शुल्क परिमार्जन भई वृद्धि भएको अवस्थामा छात्रवृत्ति अक्षय कोषबाट प्राप्त हुने ब्याज आम्दानी रकमबाट अपुग भएमा आपसी समन्वय र सहमतीमा समस्या समाधान गरिनेसमेत समझदारीपत्रमा उल्लेख गरिएको छ ।

उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरू लगायत एभरेष्ट बैंक लिमिटेडका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।