सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल : पुलिसलाई हरायो हिमालयन शेर्पाले


काठमाडौं । हिमालयन शेर्पा क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा पहिलो जित निकालेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले हराउँदै हिमालयनले पहिलो जित निकालेको हो ।

हिमालयनको जितमा डिफेन्डर अमृत श्रेष्ठले निर्णायक गोल गरे ।अमृतले खेलको इन्जुरी समयमा गोल गरेका थिए । जुन गोल हिमालयनको जितमा निर्णायक बन्यो ।

त्यसअघि ३२ औं मिनेटमा हिमालयनका फरवार्ड निशान सुब्बा पेनाल्टीमा गोल गर्न चुकेका थिए । उनको प्रहार पुलिसका गोलकिपर शत्रुघन चौधरीले रोकेका थिए ।पुलिसका डिफेन्डर अजित भण्डारीले हिमालयनका अबायोमी ओलुवासेनलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि हिमालयनले पेनाल्टीको अवसर पाएको थियो ।

जितसँगै हिमालयनले २ खेलमा ४ अंक जोडेको छ । पहिलो खेलमा हिमालयनले मनाङ मर्स्याङ्दी क्लबसँग १-१ गोलको बराबरी खेलेको थियो ।पुलिसको यो लगातार दोस्रो हार हो । पुलिसले २ खेलमा अंक जोड्न सकेको छैन ।पहिलो खेलमा पुलिसलाई चर्च ब्वाइजले हराएको थियो । तस्बिर : केशब गुरुङ

प्रतिक्रिया दिनुहोस