आईसिसी विश्वकप लिग -२ : नेपालले पीएनजीलाई हरायो


काठमाडौं । ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले आईसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेसीय सिरिजमा पपुवा न्युगिनी (पीएनजी) माथि सानदार जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा बिहीबार भएको खेलमा नेपालले पीएनजीलाई ५२ रनले हरायो ।

जितका लागि दुई सय ९८ रनको लक्ष्य पछ्याएको पीएनजी ४७.१ ओभरमा सवै विकेटको क्षतिमा दुई सय ४५ रनमा समेटिएको थियो । पीएनजीका लागि नोर्मान भानुवाले सर्वाधिक ६० रन बनाउनुभयो । ओपनर टोनी उराले ५० रन बनाउनुभयो । यस्तै कप्तान आसाद भालाले ४२, किपलिन डोरिगाले २६, रिले हेकुरेले २० र चार्लेस अमिनीले १४ रन जोड्नुभयो ।

बलिङमा नेपालका सन्दीप लामिछानेले चार विकेट लिनुभयो । दीपेन्द्र सिंह ऐरीले दुई तथा कुशल मल्लले एक विकेट लिनुभयो । जितसँगै नेपालले विश्वकप छनोट सम्भावना कायम राखेको छ ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९.१ ओभरमा सबै विकेटको क्षतिमा दुई सय ९७ विकेटको क्षतिमा रन बनाएको थियो । नेपालले एकदिवसीय क्रिकेटमा बनाएको यो ऐतिहासिक उच्च स्कोर पनि हो । नेपालका लागि ओपनर आशिफ शेख र कुशल भुर्तेल सानदार प्रदर्शन गर्नुभयो । नेपालका लागि ओपनरआशिफ शेखले एक सय १० रनको शतकीय पारी खेल्नुभयो ।

उहाँले एक सय १० बलमा १२ चौका दुई छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । आशिफको यो अन्तर्राष्ट्रिय क्रिकेटमा पहिला शतक हो । उहाँले यस खेलबाटै एकदिवसीय क्रिकेटमा एक हजार रन पनि पूरा गर्नुभयो ।पीएनजीविरुद्ध ९० रन बनाउँदा उहाँको एक हजार रन पूरा भएको थियो । यस्तै ओपनर कुशल भुर्तेलले ४५, भीम सार्कीले ४४, कप्तान रोहित पौडेलले ३०, आरिफ शेखले १५ र सोमपाल कामीले अविजित चार रन बनाउनुभयो ।

बलिङमा पीएनजीका सेमो कामेराले पाँच विकेट लिनुभयो । रिले हेकुरेले तीन तथा अलेई नाओदले एक विकेट झार्नुभयो । नेपाल सिरिजका सबै खेलमा सुखद नतिजा निकाल्ने लक्ष्यमा छ । नेपाललाई विश्वकपमा छनोट हुन सिरिजका बाँकी सबै खेल जित्नुपर्ने बाध्यता छ ।

आयोजक नेपाल, पपुवा न्युगिनी (पीएनजी) र संयुक्त अरब इमिरेट्स (यूएई) सम्मिलित यस सिरिजमा नेपालले दोस्रो खेल फागुन २८ गते यूएई, तेस्रो खेल फागुन २९ मा पीएनजी र अन्तिम खेल चैत २ गते यूएईसँग खेल्नेछ । यो सिरिज लिग–२ को अन्तिम खेल पनि हो । नेपाललाई विश्वकपमा स्थान बनाउन सबै खेल फाइनलसरह छ ।

जितसँगै ३३ खेलबाट ३४ अंक बनाएको नेपाल अहिले तालिकाको पाँचौँ स्थानमा छ । समान खेलबाट नौ अंक बनाएको पीएनजी अन्तिममा छ । ३२ खेलबाट ३१ अंक बनाएको युएई छैटौँ स्थानमा छ । सात टोली सहभागी लिगमा सबै खेल सकेको स्कटल्यान्ड सिरिज च्याम्पियन बन्दै शीर्षस्थानमा छ । यस्तै सबै खेल सकेको ओमान ४४ अंकसहित दोस्रो, ३९ अंक बनाएको नामिबिया तेस्रो र ३५ अंक बनाएको अमेरिका चौथो स्थानमा छ ।लिगमा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने तीन टोलीले एकदिवसीय विश्वकप खेल्न पाउनेछन् । नेपाललाई एकदिवसीय मान्यता कायम राख्न पनि कम्तीमा पाँचौँ स्थानमा रहनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस