जापानले नेपाललाई दिने सहयोग यथावत् : राजदूत युताका किकुता

जापानले नेपाललाई दिने सहयोग यथावत् : राजदूत युताका किकुता

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल जाइका एसोसियसन (जान) को ४९औं वार्षिक साधारणसभा २०७९ साल फागुन २७ गते एक विशेष कार्यक्रमका बीच सम्पन्न भएको छ । उक्त कार्यक्रममा बोल्दै नेपालका लागि जापानी राजदूत युताका किकुताले नेपाल जापानको असल मित्र भएको बताउँदै नेपालको सामाजिक तथा आर्थिक विकासमा जापानले गर्दै आएको सहयोग निरन्तर रहने बताउनु भयो ।

उहाँले जापानले नेपाललाई लामो समयदेखि कृषि, स्वास्थ्य सेवा, शिक्षा, पूर्वाधार विकास, सुशासन, शान्ति स्थापना तथा भूकम्पपछिको पुनर्निर्माणका क्षेत्रमा सहयोग गर्दै आएको बताउनु भयो । जापानी राजदूतले आफ्नो गृहनगर जापानको फुकुसिमामा सन् २०११ मा गएको भूकम्प सुनामी र त्यसपछि भएको परमाणु प्लान्टको विस्फोटनका कारण हजारौं नागरिकको ज्यान गै लाखौं नागरिकले दुःख पाएको बेलामा जानले गरेको सहयोगको स्मरण गर्दै जानले नेपाल र जापान बीच आपसी सहयोग आदानप्रदान र दुई देशबीचको सम्बन्ध सुदृढ बनाउने कार्यमा निरन्तर रूपमा निभाएको भुमिकाको प्रशंसा गर्नुभयो र जानलाई धन्यवाद दिनुभयो ।

आजभन्दा ठीक १२ वर्षअघि सन् २०११ मार्च ११ का दिनमा जापानको फुकुसिमामा ठूलो भूकम्प गएको थियो । त्यतिबोला जानले जापानको भूकम्प र सुनामी प्रभावितहरूलाई सहयोग गरेको थियो । सन् २०१५ को भूकम्पपछि जापानले नेपाललाई सहयोग गरेको थियो । जापानी राजदूतले यस किसिमको सहयोगले दुई देशबीचको सम्बन्धलाई अझै मजबुत बनाउने बताउनु भयो । उहाँले जानका सदस्यहरूले जापानलाई आफ्नो दोस्रो घर सम्झेर जानमार्फत नेपालको विकास र नेपाली समाजका विभिन्न क्षेत्रमा पु¥याएको योगदानप्रति खुुुसी व्यक्त गर्नुभयो ।

कार्यक्रममा जाइका नेपालका प्रमुख श्री आकिमिचु ओकुवोले जापानले नेपालमा मानव स्रोत विकासमा लामो समय देखि सहयोग गर्दै आएको र यसलाई भविष्यमा समेत निरन्तरता दिइने बताउनुभयो । जानले जाइका नेपालको सहयात्री मित्रको रूपमा देश विकास र नेपाली समाजको भलाइको लागि महत्वपूर्ण भूमिका खेलेको र सार्क क्षेत्रमा समेत जान सक्रिय रूपमा कार्यरत रहेकोले यस्ता कार्यको प्रशंसा गर्दै जानप्रति आभार व्यक्त गर्नु भयो ।

जानका अध्यक्ष डा. रामचन्द्र भुसालले नेपालको दिगो विकासमा निरन्तर सहयोग गर्दै आएको जापानले पछिल्लो पटक भूकम्पको समयमा साथै भूकम्प पछिको पुनर्निर्माण र कोभिड–१९ को महामारीमा गरेको सहयोगको लागि जापानप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि नेपालको दिगो विकासका लागि जापान सरकार र जापानी जनताको सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्नु भयो । कार्यक्रममा जानका महासचिव सुश्री शान्तिलक्ष्मी शाक्यले जानका गतिविधिहरूको बारेमा प्रगति प्रतिवेदन पेस गर्नुभएको थियो । कार्यक्रममा नेपाल जापान सम्बन्धका विविध पक्ष र जापानी सहयोग सम्बन्धि लेख रचनाहरूको सँगालो मिलन पत्रिकाको विमोचन पनि गरिएको थियो ।

जान जापानमा जाइका कार्यक्रमअन्तर्गत अध्ययन र तालिम पूरा गरी फर्किएका नेपाल सरकारका वहालवाला तथा सेवा निवृत्त सरकारी कर्मचारी विभिन्न सार्वजनिक क्षेत्रका प्राविधिक, प्राज्ञ, स्वतन्त्र प्राविधिक तथा व्यावसायिकको सामाजिक संस्था हो । जान नेपाल सरकार तथा जापान सरकार एवं जनताबीचको परम्परागत मित्रतालाई सुमधुर बनाउनुको साथै अध्ययनको क्रममा जापानमा आर्जित ज्ञान तथा सीप मुलुकको विकासमा लगाउने प्रमुख उद्देश्यका साथ स्थापना भै सन् १९७३ देखि नै क्रियाशील रहँदै आएको छ । यसले जापानी राजदूतावास, जाइका नेपाल, नेपाल सरकार र अन्य सरकारी तथा गैरसरकारी संघसंस्थाहरूसँग समन्वय गरी विभिन्न कार्यक्रमहरू गर्दै आएको छ ।