इङ्लिस प्रिमियर लिग फुटबल : फुलहाममाथि आर्सनलको जित


काठमाडौं, फागुन २९ गते । इङ्लिस प्रिमियर लिग फुटबलको शीर्षटोली आर्सनलले फुलहाममाथि सानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा आर्सनलले फुलहामलाई उसैको मैदानमा ३-० गोलले हरायो ।

आर्सनलको जितमा गाब्रियल मागल्हेस, गाब्रियल मार्टिनेली र मार्टिन ओडेगार्डले गोल गर्नुभयो । गाब्रियलले २१औं मिनेटमा खाता खोल्नुभएको थियो । २६औं मिनेटमा मार्टिनेलीले गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाउनुभयो ।

त्यसपछि पहिलो हाफको इन्जुरी समयमा ओडेगार्डले गोल गर्दै आर्सनलको अग्रता फराकिलो बनाउनुभयो । दोस्रो हाफमा दुवै टोलीबाट गोल नहुँदा आर्सनल सजिलै विजयी भयो ।

जितसँगै आर्सनलले शीर्षस्थानमा पाँच अंकको अग्रता बनाएको छ । आर्सनलको २७ खेलबाट ६६ अंक छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको समान खेलबाट ६१ अंक पुगेको छ ।

पराजित फुलहाम ३९ अंकसहित आठौं स्थानमा छ । आइतबार रातिनै भएको अर्को खेलमा म्यानचेस्टर युनाईटेड र साउथह्याम्पटनले गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस