उपराष्ट्रपति निर्वाचन प्रचण्डको राष्ट्रिय सहमतिको रटान जाँच्ने बेला : पूर्वमन्त्री तामाङ


काठमाडौं, १ चैत । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङले प्रधानमन्त्री पुष्पकमल दाहालको राष्ट्रिय सहमतिको रटान उपराष्ट्रपति निर्वाचनमा परीक्षण हुने बताएका छन् ।

‘हिजो प्रचण्डले प्रधानमन्त्रीले सरकारबाहिरको दललाई राष्ट्रपति दिए राष्ट्रिय सहमति हुन्छ भन्ने तर्क गर्नुभएको थियो । आज हामी सरकारमा छैनौं, राष्ट्रपतिको दल सरकारमा जान लागेको छ । प्रचण्डले सिर्फ आफ्नो सत्ता स्वार्थका लागि बोल्नुभएको हो वा साँच्चिकै सहमति खोजेको हो ? उपराष्ट्रपतिको निर्वाचनमा त्यो राष्ट्रिय सहमतिको रटान जाँच्ने बेला आएको छ, नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता तामाङले भने ।

एमालेले आफ्नो हैसियत अनुसार उपराष्ट्रपति निर्वाचनमा उम्मेदवार खडा गरेको उनले बताए । तामाङले थपे, ‘हाम्रो पार्टीले हिजो राष्ट्रिय सहमति भनेको थिएन । बरु सत्ता गठबन्धनको मात्र सहमति खोजेको थियो । उपराष्ट्रपति निर्वाचनमा आठ दल र र एमालेको गणित स्पष्ट छ । हामीले एमालेले आफ्नो हैसियत अनुसार आफ्नो उम्मेदवार खडा गरेका छौं । सबै दलसँग हाम्रा उम्मेदवारको पक्षमा मतदानका लागि अनुरोध गरेका छौं ।’

निवर्तमान राष्ट्रपतिलाई सक्रिय राजनीतिमा ल्याउने वा नल्याउने पार्टीभित्र कुनै छलफल नभएको पनि तामाङले बताए । उनले भने, ‘उहाँ सक्रिय राजनीतिमा आउनु त पार्टीका लागि राम्रै कुरा हो । तर उहाँ जुन ठाउँमा बसेर आउनुभएको छ, त्यसको बेग्लै पदीय गरिमा छ । उहाँ स्वयंले कसरी लिनुभएको छ, अहिले नै यस विषयमा चर्चा भएको छैन ।’

संवैधानिक परिषदमा नेकपा एमालेको बहुमत भएकाले अझै एक वर्ष संवैधानिक परिषद्को बैठक नबस्ने ठोकुवा पनि उनले गरे । तामाङले भने, ‘एमाले प्रमुख प्रतिपक्षी दल भएपछि सरकारलाई झन् अनुकूल हुँदैन । प्रधानन्यायाधीश कन्फर्म हुने अवस्था पनि आउँदैन ।’

प्रतिक्रिया दिनुहोस