प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण चाँडै हुन्छ : मन्त्री यादव


काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री महिन्द्र राय यादवले १० दलीय गठबन्धनको सरकार पाँच वर्ष टिक्ने ठोकुवा गरेका छन् ।

‘यो गठबन्धन केही मूल्य र मान्यतामा चलेको छ । तसर्थ यो गठबन्धन पाँच वर्ष नै चल्छ । गत मंसिर ४ को निर्वाचनमा जनताको म्यान्डेट त्यही पनि हो । यो हावादारी कुरा होइन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।

मन्त्री यादवले हिजो सार्वजनिक भएको सरकारको न्यूनतम साझा कार्यक्रम कार्यान्वयन हुने दाबी पनि गरे । उनले भने, ‘देश र जनताका चुनौती सामना गर्नका लागि यो कार्यक्रम ल्याइएको हो । यो समय सापेक्ष छ । नागरिकले पाउने सेवा सुविधामा सरलीकरण, साधन स्रोतलाई मितव्ययी बनाउने कुरा छन् । तीन तहको सरकारका बीचमा समन्वय र सहकार्यका कुरा छन् । तसर्थ यो कार्यान्वयन हुन्छ ।’ साथै उनले आफ्नै देशमा रोजगारी सिर्जना र सातै प्रदेशमा अर्गानिक मलको कारखाना खोल्ने कुरा पनि कार्यान्वयन हुनेमा जोड दिए ।

मन्त्री यादवले बजेटको प्रक्रिया अघि बढाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण चाँडै हुने पनि बताए । उनले भने, ‘नेपाल र भारतबीचको भएका विभिन्न सम्झौता, समझदारी र सहमतिको कार्यान्वयन भ्रमणको एजेन्डा हुन्छ । झन्डै दुई प्रतिशतजति रहेका सीमा समस्या कूटनीतिक पहलबाट समाधान गराउन पनि लाग्छौं ।’

प्रतिक्रिया दिनुहोस