एसीसी प्रिमियर कप : कुवेतद्वारा सिंगापुर ४ विकेटले पराजित


काठमाडौं । राजधानीमा जारी एसीयन क्रिकेट काउन्सिल(एसीसी) प्रिमियर कपमा सिंगापुरलाई पराजित गरि कुवेतले सेमिफाइनल प्रवेशको सम्भावना कायमै राखेको छ ।

सेमिफाइनल प्रवेशका लागि कुवेतले बिहिबार हुने खेलमा हङकङलाई पराजित गर्नु पर्ने हुन्छ । टियु मैदान कीर्तिपुरमा भएको खेलमा समूह ‘बी’ मा रहेको कुवेतले सिंगापुरलाई ४ विकेटले पराजित गरेको छ ।

सिंगापुरले दिएको १ सय १४ लक्ष्य कुवेतले २६ दशमलब ३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । कुवेतका लागि अदनान इद्रीशले २८ बलमा ३८ रन बनाउँदा मित भावसारले ५० बलमा अविजित २७ रन बनाए । यासिन पटेलले २५ बलमा अविजित २१ रन बनाए । शीराज खानले २० बलमा १० रन बनाए ।

सिंगापुरमा अक्षय पुरी र विनोद बसकरनले समान २/२ तथा आदित्य भारगभ र थिलिपानी उमदुराईले समान १/१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुरले ३१ दशमलब ४ ओभरमा अलआउट हुदै १ सय १३ रन बनाएको हो ।
सिंगापुरका लागि ओपनर अर्मत्य कौलले ६० बलमा ४५ रन बनाए । मनप्रित सिंहले ४४ बलमा २८ रन बनाए । थिलिपन उमरदुराईले १३ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

कुवेतका लागि कप्तान मोहम्मद अस्लामले ८ ओभर ४ बलमा २० रन खर्चदै ५ विकेट लिए । शिराज खानले ३ विकेट लिए । तीन खेलबाट चार अंक जोडेको कुवेतले सेमिफाइनल प्रवेशको सम्भावना मजबुत बनाएको छ । बिहिबार हुने समूह चरणको खेलमा हङकङलाई पराजित गरे कुवेत फाइनलमा स्थान बनाउने छ । प्रतियोगिताबाट बाहिरिसकेको सिंगापुरले अंक बिहिन रुपमा प्रतियोगिता सकायो ।

वैशाख १८ गते सम्म संचालन हुने प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित टियु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा खेल संचालन हुनेछ । कुल २४ खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते टियु मैदानमा आयोजना हुनेछ ।

यस प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहेको छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।समूह ‘ए’ मा आयोजक नेपाल सहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह ‘बी’ मा बहराइन,कुवेत,सिंगापुर,हङकङ र युएई रहेका छन् ।हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल खेल्ने छन् । सेमिफाइनलका विजेता राष्ट्रले फाइनल खेल्ने छ।फाइनलको विजेता टोली एसीया कपका लागि छनोट हुनेछ । एसीया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ । यस्तै शीर्ष तीनमा रहने टोली एसीसी ईमर्जिङ कपका लागि छनोट हुनेछन् ।

प्रतिक्रिया दिनुहोस