स्पेनिस ला लिगा फुटबल : रायो भालेकानोसँग बार्सिलोना पराजित


काठमाडौं । स्पेनिस ला लिगा फुटबलको उपाधि होडमा रहेको बार्सिलोना रायो भालेकानोसँग पराजित भएको छ । बुधबार राति भएको खेलमा बार्सिलोना रायो भालेकानोसँग उसैको मैदानमा २-१ गोलले स्तब्ध बन्यो ।

बार्सिलोनालाई हराउन रायो भालेकानोका अल्भारो गार्सिया र फ्रान्सिस्को गार्सियाले गोल गर्नुभयो । बार्सिलोनाका रोबर्ट लेवान्डोस्कीले सान्त्वना गोल फर्काउनुभयो ।

अल्भारो १९औँ मिनेटमा सर्जियो कामेलोको पासमा गोल गर्दै रायो भालेकानोको उत्साह जगाउनुभयो । ५३औँ मिनेटमा फ्रान्सिस्को गार्सियाले गोल गर्दै रायो भालेकानोको अग्रता दोब्बर बनाउनुभयो ।

त्यसपछि ८३औँ मिनेटमा लेवान्डोस्कीले गोल गरेपनि बार्सिलोनाको हार टरेन । बार्सिलोनाको यो सिजनको तेस्रो हार हो । हारेपनि शीर्षस्थानमा रहेको बार्सिलोनाको ३१ खेलबाट ७६ अङ्क छ । दोस्रो स्थानको रियल म्याड्रिडको ६५ अङ्क छ ।

बार्सिलोनालाई हराएको रायो भालेकानो ४३ अङ्कसहित नवौँ स्थानमा छ । अन्य खेलमा एट्लेटिको म्याड्रिडले रियल मालोर्कालाई ३-१, सेल्टा भिगोले इल्चेलाई १-० र अल्मेरियाले गेटाफेलाई २-१ गोलले पराजित गरेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस