एनआईसी एशिया बैङ्कद्वारा तीन कर्जायोजना सार्वजनिक


काठमाडौँ । बजारको माग अनुसार बदलिँदो समय एवं नवीनतम आकर्षक योजनाहरूलाई समेट्दै आएको एनआईसी एशिया बैङ्क लिमिटेडले आफ्ना ग्राहकहरू समक्ष अठोट घर कर्जा, अठोट साना व्यवसाय कर्जा र अठोट शेयर धितो कर्जा गरी तीन कर्जा योजना सार्वजनिक गरेको छ ।

ग्राहकको आवश्यकतालाई हर सम्भव पूरा गर्ने सोचका साथ बैङ्कले न्यूनतम रु. २५ लाखदेखि अधिकतम रु. १२ करोडसम्मको अठोट घर कर्जा योजना ल्याएको हो । २५ वर्षसम्मको कर्जा अवधि रहेको यस अठोट घर कर्जा ग्राहकहरूले आकर्षक तथा न्यूनतम ब्याजदरमा उपभोग गर्न सक्नेछन् ।

यस योजनाअन्तर्गत ग्राहकहरूले निजी आवासीय घर खरिद गर्न, निजी आवासीय अपार्टमेन्ट खरिद गर्न, निजी आवासीय घर निर्माण गर्न, निजी आवासीय घर मर्मत तथा तला थप्न र निजी आवासीय घर निर्माण गर्न जग्गा खरिद गर्न यो कर्जा सुविधा उपयोग गर्न सक्नेछन् । साथै, अन्य बैङ्क तथा वित्तीय संस्थामा रहेको व्यक्तिगत आवासीय घरकर्र्जा यस बैङ्कको अठोट घर कर्जामा स्वापः गर्न सकिने व्यवस्था समेत बैङ्कले गरेको छ ।

बैङ्कले ग्राहकहरूको व्यवसाय सञ्चालन तथा विस्तार गर्नका लागि ल्याएको अठोट साना व्यवसाय कर्जामा न्यूनतम रु. २५ लाखदेखि अधिकतम रु. ५ करोडसम्म कर्जा उपलब्ध हुनेछ । अधिकतम १५ वर्ष कर्जा अवधि कायम गरिएको यस कर्जामा आकर्षक तथा न्यूनतम ब्याजदर कायम गरिएको छ । साना तथा मझौला व्यवसाय तथा कृषि व्यवसायहरूलाई लक्षित गरी ल्याएको यस कर्जा अन्तर्गत लगानीकर्ताहरूले सञ्चालित वा नयाँ व्यवसायहरूको अल्पकालीन वा दीर्घकालीन लगानी आवश्यकताका लागि यो कर्जा उपभोग गर्न सक्नेछन् ।

त्यसै गरी बैङ्कले ल्याएको न्यूनतम रु. ५० लाखदेखि अधिकतम रु. १२ करोडसम्मको अठोट शेयर धितो कर्जाको हकमा समेत आकर्षक तथा न्यूनतम ब्याजदर लाग्नेछ भने यस कर्जामा १ वर्षको भुक्तानी अवधि (वार्षिक रूपमा नवीकरण गर्न सकिने)रहेको छ ।

एनआईसी एशिया बैङ्क मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैङ्कहरू मध्येको बैङ्क हो । यस बैङ्कले मुलुकभर ३६० शाखा कार्यालयहरू, ५६७ एटिएम, ११० वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहितशाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसङ्ख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैङ्क सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस