प्रधानमन्त्री प्रचण्डलाई सरकारबाट लड्न विप्लवको आग्रह


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले अब एउटा पार्टीले मात्रै लडेर जनताको विजय प्राप्त गर्न सम्भव नभएकाले मोर्चाको अवधारणा अघि सारिएको बताएका छन् ।

आज (मंगलबार) समाजवादी मोर्चा नेपालले बुटवलमा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै उनले हजारौं वर्षदेखि जरा गाडेर बसेको सामन्तवादको अन्त्य गरी पूजीवादी क्रान्ति सम्पन्न गरे पनि अब समाजवादी क्रान्तिका लागि मोर्चा आवश्यक परेको बताए ।

नेपालमा दलाल पूजीवादको अन्त्य गरी जनताको समाजवाद स्थापना गर्नु आजको आवश्यकता भएको उल्लेख गर्दै उनले आफ्नो पार्टीले भन्दै आएको बैज्ञानिक समाजवाद अहिले सम्भव नभए पनि नेपाली विशेषतासहितको समाजवाद मोर्चाको साझा विन्दु भएको बताए ।

मोर्चा बनाउन प्रधानमन्त्री प्रचण्डले ठूलो जोखिम मोलेको उल्लेख गर्दै विप्लवले जनताको एकता मन नपराउने तत्वहरु बढारिएर जाने बताए । मोर्चा सम्बद्ध दलहरु समस्यारहित नभए पनि अहिले नेपालमा सबैभन्दा अग्रगामी शक्ति समाजवादी मोर्चा रहेको बताए । नेपाल स्वाधीन बन्दै गएको उल्लेख गर्दै उनले यो विदेशीहरुलाइ मन नपरेको बताए ।

महासचिव विप्लवले प्रधानमन्त्री प्रचण्डलाई सरकारबाट लड्न आग्रह गर्दै जनताको लागि आफूहरु सडकबाट साथ दिन तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस