प्रचण्डलाई गगन थापाको चेतावनी


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारलाई हामीसँग बहुमत छ, संसद्मा जे ल्याएपनि पारित हुन्छ भन्ने सोचेको भए यस पटक देखाइदिने चेतावनी दिएका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले संसदमा पेश गरेको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथि विरोध जनाउँदै उक्त विधेयक विधिशास्त्रको खिलाफमा रहेको बताएका हुन् ।

एकरुपता ल्याउनका लागि केही नेपाल ऐन संशोधन भनेर गणतन्त्र आएपछि धेरै कानुन संशोधन गरिएको स्मरण गर्दै उनले २०७४ सालको नेकपाको सरकारले यसको चरम दुरुपयोग गरेको उनको आरोप छ । तत्कालीन समयमा नेकपाको सरकारले केही नेपाल ऐन संशोधन गर्ने ऐनमा नेपाल ट्रस्ट ऐन पनि छिराएको उनको आरोप छ । उनले उक्त ऐनको कांग्रेसले संसद्भित्र र संसद्बाहिर जमेर यसको विरोध गरेको कानुनमन्त्री गुरुङलाई स्मरण गराए ।

अहिले संसद्मा पेश भएको विधेयक मुलुकी फौजदारी संहिताको संशोधनमार्फत जघन्य अपराधमा संलग्नलाई जोगाउने गरी ल्याइएको उनको भनाई छ । उक्त विधेयक कांग्रेसले पास हुन नदिने थापाले बताए ।

‘यसरी ऐन ल्याउनु भनेको हिजो पनि संसद्लाई हेपेको हो, आज पनि संसद्लाई हेपेको हो । संसदीय व्यवस्थामा सरकारलाई के लाग्छ भने, मसँग बहुमत छ, मैले जे ल्याएपनि पारित हुन्छ भन्ने लाग्छ । यो हामीलाई हेपेको हो । हामी हेपिने कि नहेपिने यो पटक देखाउन पर्छ,’– महामन्त्री थापाले भने, ‘यो विधेकका मुलुकी फौजदारी संहिताको संशोधनमार्फत जघन्य अपराधमा संलग्नलाई जोगाउने गरी जुन प्रावधान ल्याएको छ ।’

राजनीतिक अपराधीकरण र अपराधको राजनीतीकरण कांग्रेसलाई स्वीकार्य नहुने उनको चेतावनी छ । उनले अहिले संसद्मा पेश भएको विधेयक २०७४ पछि बनेको नेकपाको सरकारले ड्राफ्ट गरेको बताए । उक्त विधेयकको भारी नबोक्न उनले कानुनमन्त्री गुरुङलाई आग्रह गरे ।

‘कानुनमन्त्रीलाई मेरो आग्रह छ, २०७४ पछिको सरकारले लेखेको ड्राफ्ट हो यो । यसको भारी नबोक्नुस्, बिसाउनुस्, यसलाई हटाउनुस्,’– उनले भने ।

प्रतिक्रिया दिनुहोस