एनआरएनए निर्वाचनको कार्यतालिका सार्वजनिक : ७४ जना पदाधिकारी निर्वाचित हुने


काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी असोज ३० देखि कात्तिक ३ गते (तदनुसार अक्टोबर १७–२०) सम्म हुने तय भएको विश्व सम्मेलन तथा महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । प्रमुख निर्वाचन अधिकृत यादव प्रसाद ढुंगानाले संघको विधान, २००३ (संशोधन, २०२२) को दफा १७.२ र संघको निर्वाचनसम्बन्धी नियमावली, २०२१ (संशोधन २०२३) को नियम ६ बमोजिम आगामी कार्यकाल २०२३–०२५ का लागि नेतृत्व चयन गर्न निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन् । निर्वाचनबाट अध्यक्षसहित ७४ जना पदाधिकारी निर्वाचित हुने उनले बताए ।

उनका अनुसार महाधिवेशनबाट अध्यक्षसहित उपाध्यक्ष ६, महिला उपाध्यक्ष १, युवा उपाध्यक्ष १, महासचिव १, उपमहासचिव २, सचिव ६, महिला सचिव १, कोषाध्यक्ष १, सहकोषाध्यक्ष ३, महिला सहकोषाध्यक्ष १ महिला संयोजक १ र युवा संयोजक १ जना निर्वाचित हुनेछन् । यसैगरी क्षेत्रीय संयोजक प्रत्येक क्षेत्रबाट १–१ जना गरी ६ जना, क्षेत्रीय उपसंयोजक १२ जना निर्वाचित हुनेछन् । जसमा अफ्रिका क्षेत्रबाट २ र अन्य क्षेत्रबाट ३ जनाका दरले निर्वाचित हुने विधानमा उल्लेख छ । यस्तै क्षेत्रीय महिला उपसंयोजक ६ जना, क्षेत्रीय महिला उपसंयोजक ६ जना, क्षेत्रीय युवा संयोजक ६ जना, क्षेत्रीय युवा उपसंयोजक पनि ६ जना निर्वाचित हुनेछ । संयोजक र उपसंयोजक उनीहरु सबै प्रत्येक क्षेत्रबाट १–१ जनागरी ६ जना निर्वाचित हुने भएका हुन् । यसैगरी दोस्रो पुस्ताका गैरआवासीय नेपाली संयोजक १ जना निर्वाचित हुने विधानमा व्यवस्था रहेको छ ।

कात्तिक २ मा मतदान

संघको निर्वाचन कार्यतालिकाअनुसार प्रारम्भिक मतदाता नामावली प्रकाशन असोज ७ गते हुनेछ भने मतदाता नामावलीउपर दावी विरोध गर्ने समय असोज ८ र ९ गतेका लागि दिइएको छ । यस्तै मतदाता नामावली उपर परेको दाबी विरोधमाथि असोज ९ देखि ११ गतेसम्म छानबिन हुनेछ भने त्यसपछि १२ गते अन्तिम नामावली प्रकाशित हुनेछ । यसपटक उम्मेदवारी मनोनयन विद्युतीय माध्यमबाट नै पेश गर्न सकिने व्यवस्था समेत गरिएको छ । विगतमा काठमाडौँमै भेला भएर उम्मेदवारी दिने प्रचलन रहेको थियो । विद्युतीय माध्यमबाट मनोनयन पेश गर्नेको हकमा प्रस्तावक र समर्थकसहित अनिवार्यरुपमा उपस्थित भइ सनाखत गराउनुपर्नेछ ।

भौतिक र विद्युतीय माध्यमबाट मनोनयन दर्ता दर्ता र सनाखतका लागि असोज २५ देखि २९ गतेसम्मको समय दिइएको छ । भौतिक उपस्थितिमा मनोनयन दर्ता गराउनेलाई संघको कार्यालय बालुवाटारमा व्यवस्था मिलाइएको छ । मनोनयन दर्तापछि असोज २९ गते उम्मेदवारको पहिलो नामावली प्रकाशित गरिनेछ । सोही दिन उम्मेदवारको उम्मेदवारीविरुद्ध दावी विरोधको समय दिइएको छ भने त्यसपछि असाज ३० मा मनोनयनपत्रको जाँचबुझ र उजुरीउपर निर्णय हुनेछ ।

त्यसपछि असोज ३० मै उम्मेदवारको दोस्रो नामावली प्रकाशित गरिनेछ भने सोही दिन मनोनयनपत्र फिर्ताको समय पनि दिइनेछ । त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेर मतदानको प्रक्रिया सुरु गरिनेछ । जसअनुसार विद्युतीय माध्यमबाट निर्वाचन गराउने कम्पनीलाई नामावली उपलब्ध गराएर त्यसको भोलिपल्ट अर्थात कात्तिक १ गते डेमो निर्वाचन पनि गराइनेछ । त्यसपछि कात्तिक २ मा औपचारिक रुपमा मतदान हुनेछ । भौतिकरुपमा उपस्थित हुनेका लागि होटल सोल्टीमा आवश्यक व्यवस्था मिलाइएको संघले जनाएको छ । मतगणना र घोषणापनि होटल सोल्टीमै हुनेछ । मतदान राष्ट्रिय समन्वय परिषद्बाट पञ्जीकृत सदस्यता प्राप्त गरेको, गैरआवासीय नेपालीको हैसियत कायम गरेको, राष्ट्रिय समन्वय परिषद्बाट अन्तर्राष्ट्रिय महाधिवेशनमा उपस्थित हुनका लागि जारी भएको प्रमाणपत्र वा अन्तर्राष्ट्रिय समन्वय परिषद्ले उपलब्ध गराएको परिचयपत्र भएकाले मतदान गर्न पाउनेछन् ।

यस्तै गैरआवासीय नेपालीको हैसियत कायम रही, पञ्जीकृत सदस्यता नवीकरण गरी नवीकरण शुल्क बुझाएका बहालवाला अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी एवम् सदस्यहरुले पनि स्वतः मतदान गर्न पाउने संघले जनाएको छ । संघको उम्मेदवार बन्नका लागि अध्यक्षले ५ लाख रुपैयाँ दस्तुर बुझाउनपर्नेछ भने उपाध्यक्षले ३ लाख ५० हजार, महिला उपाध्यक्षले १ लाख ७५ हजार, महासचिवले ३ लाख, उपमहासचिवले २ लाख ७५ हजार, सचिवले २ लाख ५० हजार, महिला सचिवले १ लाख २५ हजार, कोषाध्यक्षले २ लाख ५० हजार, सहकोषाध्यक्षले २ लाख दस्तुर बुझाउनुपर्नेछ । यसैगरी महिला सहकोषाध्यक्षले १ लाख, महिला संयोजकले ८७ हजार ५००, क्षेत्रीय संयोजकले १ लाख ७५ हजार, क्षेत्रीय उपसंयोजकले १ लाख २५ हजार, क्षेत्रीय महिला संयोजकले ६२ हजार ५०० र क्षेत्रीय महिला उपसंयोजकका उम्मेदवारले ५० हजार दस्तुर बुझाउनुपर्नेछ । यस्तै युवा क्षेत्रीय संयोजकले ६२ हजार ५००, क्षेत्रीय युवा उपसंयोजकले ५० हजार र दोस्रो पुस्ताका गैरआवासीय नेपाली संयोजकले पनि ५० हजार रुपैयाँ उम्मेदवारी शुल्कबापत बुझाउनुपर्नेछ । सबै उम्मेदवारले उम्मेदवारी दस्तुर बैंक खातामार्फत बुझाउनुपर्ने पनि प्रमुख निर्वाचन अधिकृत ढुंगानाले बताए ।

उम्मेदवार बन्न चाहिने योग्यता

संघका अनुसार उम्मेदवार बन्न अन्तिम मतदाता नामावलीमा उम्मेदवारको नाम समावेश भएको हुनुपर्नेछ । यस्तै गैरआवासीय नेपाली संघको विधान, निर्वाचन नियमावली, निर्वाचन आचारसंहिता, निर्वाचन समितिले जारी गरेको आचार संहिता एवं निर्वाचन समितिले समय समयमा जारी गर्ने सूचना पूर्ण रुपमा परिपालना गर्न एवं तोकिएको विद्युतीय माध्यमबाट हुने मतदान एवं प्राप्त मत परिणाम स्वीकार गर्न मन्जुर गरी उम्मेदवारले लिखित प्रतिवद्दता पत्र मनोनयन पत्र साथ दाखिल गनुपर्नेछ । यसैगरी संघको विधानको दफा ५ को उपदफा ५.१ मा उल्लेख भए बमोजिम गैर आवसीय नेपालीको हैसियत कायम रहेको सम्बन्धमा सम्बन्धित राष्ट्रिय समन्वय परिषदबाट सो देशमा २ (दुई) वर्ष भन्दा बढी बसोबास गरेको प्रमाणीत हुने कागजात अनिवार्य पेश गर्नुपर्नेछ ।

यसैगरी उम्मेदवारले कुनै पनि राजनैतिक, जातीय वा धार्मिक संस्थाको कार्यकारी समितिको पदाधिकारी वा सदस्य पद धारण नगरेको स्वघोषणा निवेदन पत्र मनोनदय पत्र साथ पेश गर्नुपर्नेछ । उल्लेखित पद धारण गरेको भए सो पद त्याग गरेको आधिकारिक प्रमाण (राजीनामा र स्वीकृती पत्र) उम्मेदवार मनोनयन फारमका साथ पेश गर्नुपर्नेछ । तोकिए बमोजिमको शुल्क एवं मनोनयन दस्तुर बुझाएको निस्सा मनोनयन पत्र साथ पेश गर्नुपर्नेछ भने कुनै पनि पदमा उम्मेदवार बन्नको लागि राष्ट्रिय समन्वय परिषद्बाट महाधिवेशन प्रतिनिधि छानिएको हुनुपर्नेछ । यसैगरी चालु अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्यहरु वा पदाधिकारीहरु स्वतः महाधिवेशन प्रतिनिधि हुने भएकोले राष्ट्रिय समन्वय परिषद्बाट चयन भएको प्रतिनिधिभित्र छानिएको हुनुपर्ने छैन । तर गैर आवासीय नेपालीको हैसियत कायम रहेको हुनुपर्नेछ ।

नयाँ गठन भएका राष्ट्रिय समन्वय परिषद्को तदर्थ समितिका पदाधिकारी तथा सदस्यहरुले अन्तर्राष्ट्रिय समन्वय परिषद्को पदाधिकारी पदमा उम्मेदवारी दिन अयोग्य मानिने संघले जनाएको छ । यसैगरी अन्तर्राष्ट्रिय महाधिवेशन अघि सम्पन्न राष्ट्रिय समन्वय परिषद्को निर्वाचनमा कुनै पनि पदमा पराजित वा विजयी उम्मेदवार निर्वाचन प्रयोजनको लागि अन्तर्राष्ट्रिय समन्वय परिषद्को कार्यकारी पदमा उम्मेदवार बन्न अयोग्य मानिने व्यवस्था गरिएको छ । संघको अध्यक्ष वा पदाधिकारी सोही पदमा लगातार २ पदावधि भन्दा बढी निर्वाचित हुन योग्य नमानिने संघको विधानमा उल्लेख छ । यस्तै निर्वाचन समितिका सदस्यहरु पनि उम्मेदवार हुने योग्य हुनेछैनन् । राष्ट्रिय समन्वय परिषद् गठन नभएका मुलुकका व्यक्तिहरु कुनै पनि पदमा उम्मेदवार हुन योग्य नमानिले संघले जनाएको छ । अध्यक्ष बाहेक अन्य पदाधिकारीको हकमा अन्तर्राष्ट्रिय समन्वय परिषद्को पदाधिकारी वा सदस्य वा कुनै पनि राष्ट्रिय समन्वय परिषद्को पदाधिकारी पदमा एक कार्यकाल पूरा गरेको हुनुपर्ने व्यवस्था गरिएको छ ।

यसैगरी क्षेत्रीय संयोजकको हकमा एउटै देशबाट लगातार २ पटक भन्दा बढी निर्वाचित हुन अयोग्य मानिने हुँदा त्यस्तो उम्मेवदारको उम्मेदवारी स्वीकार नगरिने संघले जनाएको छ । तर अन्य देशबाट उम्मेदवारी नपरेमा यो प्रावधान लागू नुहेन बताइएको छ । क्षेत्रीय महिला र युवा संयोजक तथा उपसंयोजकको उम्मेदवारको हकमा अन्तर्राष्ट्रिय समन्वय परिषद्को पदाधिकारी वा सदस्य वा कुनै पनि राष्ट्रिय समन्वय परिषद्को पदाधिकारी वा सदस्य पदमा एक कार्यकाल पूरा गरेको वा कम्तिमा एक पटक अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधि भएको हुनुपर्ने जनाइएको छ । युवा उपाध्यक्ष, युवा संयोजक, क्षेत्रीय युवा संयोजक, क्षेत्रीय युवा उपसंयोजकको उम्मेदवार अन्तर्राष्ट्रिय महाधिवेशन शुरु भएको दिन सम्म ४० वर्ष उमेर नकाटेको हुनुपर्ने जनाइएको छ । उमेर ४० वर्ष नकाटेको पुष्टि हुने आधिकारिक कागजात मनोनयन पत्र साथ पेश गर्नुपर्ने पनि संघले जनाएको छ । यसैगरी दोश्रो पुस्ताका गैर आवासीय नेपाली संयोजकको हकमा निज विदेशमा माध्यामिक विद्यालय तहसम्म अध्ययन गरेको र अन्तर्राष्ट्रिय महाधिवेशन शुरु भएको दिनसम्म ३० वर्ष नकाटेको हुनुपर्ने संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस