कांग्रेसका लागि निर्वाचन जित्ने, हार्ने कुरा सामान्य : महामन्त्री थापा


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नो पार्टीका लागि निर्वाचन जित्ने, हार्ने कुरा सामान्य भएको बताएका छन् । आज (शुक्रबार) पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसको धर्म निर्वाचन जितेर सरकारमा रहनेमात्रै नभएर देशको हित गर्नु भएको बताएका हुन् ।

‘कुनै एउटा निर्वाचन हुन्छ । निर्वाचन जित्छौं, हार्छौं, हामी कहिले काहीँ २०८४ को निर्वाचनका बारेमा चिन्ता गर्छौं । कांग्रेस पार्टीले कुनै निर्वाचन जित्नु, हार्नु, जीवनको एउटा सामान्य कुरा हो । एउटा पक्षमात्रै हो । जसरी पानीको धर्म छ, आगोको धर्म छ, रुखको धर्म छ । सूर्यको धर्म ताप दिनु हो, पानीको धर्म चिसो बनाउनु हो, आँत भिजाउनु हो । कांग्रेसको धर्म यो देशको हित गर्नु हो । यो देशको भुईँमा बसेका जनतालाई माथि उठाउनु उसको धर्म हो । यो धर्म निर्वाह गर्ने हो,’– महामन्त्री थापाले भने ।

कांग्रेसले आफ्नो धर्म निर्वाह गर्दाखेरी सरकारमा रहेर वा नरहेर देश र जनताको हितमा काम गर्नुपर्ने उनले बताए । उनले पार्टी स्थापना किन भयो भनेर स्मरण गर्न र त्यसबाट शिक्षा लिएर अगाडि बढ्नसमेत आग्रह गरे ।

साथै, उनले सहिद दिवसको दिन आगामी १६ गते देशैभरका प्रत्येक वडामा हुने कार्यक्रममा अनिवार्यरुपमा उपस्थित हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिए । उनले पार्टी सभापति शेरबहादुर देउवालाई समेत सो दिन वडाको कार्यक्रममा सहभागी हुन आग्रह गरे ।

‘चाहे सांसद, मन्त्री हुनुहोस्, चाहे सभापति हुनुहोस्, चाहे भातृ संस्थाको प्रमुख हुनुहोस् । त्यो दिन सहिदलाई सम्झनको निम्ति जहाँको क्रियाशील सदस्य हो, त्यही पुग्नुपर्दछ,’ थापाले भने ।

प्रतिक्रिया दिनुहोस