राजनीतिक अस्थिरता र सामाजिक अराजकताले नै विकास र समृद्धिमा बाधा : महासचिव पोखरेल


काठमाडौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले मध्यपहाडलाई नेपालको समृद्धिको आधारशीलाका रूपमा स्थापित गर्नुपर्ने बताएका छन् । म्याग्दीको बेनीमा एमाले म्याग्दीको १०औँ जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले हालै सञ्चालन गरिएको पूर्व–पश्चिम जोड्ने मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानमार्फत पहिचान भएका समस्या र सम्भावनाको विषयलाई राजनीतिक मुद्दा बनाउने उल्लेख गरे ।

“पहाडबाट बसाइँसराइ रोकेर अवसरको सिर्जना गराउन सरकारलाई सुझाव दिएका छौँ”, महासचिव पोखरेलले भने ।

जातिवादी र अतिवादी शक्तिले परिवर्तनको विरुद्धमा फैलाएको भ्रम चिर्न आवश्यक रहेको उनको भनाइ थियो । नयाँ शक्तिका नाममा छाडातन्त्र र अराजकताले समाजलाई सही बाटोमा डोहोर्याउन नसक्ने उनले बताए । उनले भने,“राजनीतिक अस्थिरता र सामाजिक अराजकताले नै विकास र समृद्धिमा बाधा पुर्याएको छ ।”

महासचिव पोखरेलले निर्माण भएका अन्तराष्ट्रिय विमानस्थल सञ्चालन, राज्यलाई कमजोर बनाउने गतिविधि नियन्त्रण, उत्तरदक्षिण र पूर्वपश्चिम जोड्ने लोकमार्ग, आधारभूत अस्पताल निर्माणसम्बन्धी दूरगामी योजनालाई महत्व दिँदै लगानी र सुरक्षाको वातावरण बनाएर युवा पलायन घटाउन नीति लिन सरकारसँग माग गरे । जनतामा आशा जगाउँदै उनीहरूको समस्या पहिचान र सम्बोधन गराउँदै आगामी चुनावमा एकल बहुमत प्राप्त हुनेगरी सङ्गठन निर्माणमा परिचालन हुन नेता–कार्यकर्तालाई उनले निर्देशन दिए ।

दुई दिनसम्म चल्ने अधिवेशनले म्याग्दी जिल्ला कमिटीको नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनमा चार सय १९ प्रतिनिधिले भाग लिएका छन् ।

प्रतिक्रिया दिनुहोस