स्वदेशमा उद्यम गर्न ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’ योजना सुरु


काठमाडौं । नबिल बैंक लिमिटेडले विदेशबाट फर्किएका नेपाली युवा तथा विदेशमा रहेका नेपाली युवाहरूको लागि नयाँ कर्जा योजना ल्याएको छ ।

बैंकले विदेशबाट फर्किएका नेपाली युवा तथा विदेशमा रहेका नेपाली युवाहरूको परिवारका लागि ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’ योजना सुरु गरेको हो । बिहीबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीद्वारा ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’ योजना सार्वजनिक गरिएको हो ।

‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले बैंकको यस्तो योजनाले बिदेशिएको दक्ष र बौद्धिक जनशक्तिलाई नेपालमा फर्काउन ठुलो मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

‘वैदेशिक रोजगारीमा रहेका र फर्किएका युवालाई स्वदेशमा नै उद्यमशीलता विकास गर्ने सरकारको अभियानलाई सहयोग पुग्ने गरी बैंकले कार्यक्रम अघि बढाएको छ । सहज र सरल ढंगबाट वित्तीय सेवा प्रवाह गरी यो कर्जालाई देशव्यापी बनाउन सके देशको विकासमा टेवा पुग्नेमा विश्वस्त रहेको छ’, मन्त्री भण्डारीले बताए ।

नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले वातावरणीय, सामाजिक र आर्थिक दिगोपनमा केन्द्रित गरेर बैंकले आफ्नो यात्रा अघि बढाएको बताए ।

‘यो कर्जा योजना बैंकले व्यवसायिक रुपमा मात्र नभई स्थानीय अर्थतन्त्र र साना व्यवसायहरूलाई सहयोग तथा समर्थन गर्न डिजाइन गरिएको एक अभियानका रुपमा लिएका छौं’, अध्यक्ष पौड्यालले भने ।

यस्ता छन् विशेषता

बैंकका अनुसार यो कर्जा विदेशमा सिकेको सिपलाई प्रयोग गर्दै नेपालमै केही गरौँ भन्ने सोच बनाइरहेका नेपालीहरूलाई केन्द्रित गरिएको छ । यस कार्यक्रम अन्तर्गत उद्योग तथा व्यावसायिक योजनाको प्रकृतिका आधारमा अधिकतम १० करोडसम्म कर्जा उपलब्ध गराउने छ ।

यस्तो कर्जा न्यून ब्याजमा अधिकतम १० वर्ष अवधिसम्मको लागि उपलब्ध गराइने छ । यो कर्जामा बैंकले आधार दरमा जम्मा १.५ प्रतिशत प्रिमियम थप गरी उपलब्ध गराउने उल्लेख गरिएको छ ।

बैंकको एसएमई, एमएफ तथा सस्टेनेवल बैंकिङ प्रमुख अमित श्रेष्ठले नयाँ योजनाको विषयमा आफ्नो प्रस्तुति दिँदै आवश्यक कागजपत्र पूरा भएको तीनदेखि पाँच दिन भित्रमा कर्जा प्रवाह भइसक्ने बताए ।

‘वैदेशिक रोजगारबाट फर्कनु भएका तथा हाल वैदेशिक रोजगारमा रहेका नेपालीहरुको परिवारलाई वित्तीय पहूंच पु¥याउन हामी प्रतिबद्धता व्यक्त गर्न चाहन्छौँ’, उनले भने, ‘सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराइ उद्यमशीलता विकास गर्ने नबिल बैंक उद्देश्य रहेको छ । र साना तथा मझौला उद्यमले स्थानीय अर्थव्यवस्थालाई सुदृढीकरण गर्नुका साथै समाजमा रोजगारी सिर्जना गर्ने छ ।’

नयाँ योजनाले रेमिट्यान्सलाई सही ठाउँमा उपयोग गर्नसमेत प्रोत्साहन पुग्ने बैंकको विश्वास छ । कर्जा योजनाले वैदेशिक रोजगारमा रहेका नेपालीका परिवार तथा आफन्तलाई समेत सक्रिय बनाउने अपेक्षा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस