प्रधानमन्त्री कप क्रिकेट : पुलिस विजयी


काठमाडौँ विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एक दिवसीय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गर्दै आफ्नो अपराजित यात्रालाई कायम राखेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा कर्णाली प्रदेशलाई ६ विकेटले पराजित गर्दै आफ्नो अपराजित यात्रालाई कायम राखेको हो । यो जितसँगै पुलिसले ६ खेलमा १२ अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा छ । यता सात खेल खेलको कर्णाली प्रदेश तीन खेलमा जित तथा चौथो खेलमा हार बेहोर्दै ६ अङ्कका साथ अङ्क तालिकाको सातौँ स्थानमा छ ।

कर्णालीले प्रस्तुत गरेको एक सय ७२ रनको लक्ष्य पुलिसले २३ दशमलव ४ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्‍यो । पुलिसका लागि दिलीप नाथले सर्वाधिक ७५ रनको योगदान दिए । उनले ६२ बलमा ६ चौका र चार छक्काको मद्दतले अविजित ७५ रन बनाएका हुन् । यसैगरी, कुशल भुर्तेलले ४३ रन बनाउँदा कप्तान दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाए ।

कर्णालीका लागि प्रकाश जैसीले दुई विकेट लिए भने दिवान पुन र दीपेन्द्र रावतले समान एक-एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णालीले ४२ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै एक सय ७१ रनको योगफल बनाएको थियो । कर्णालीका लागि निश्चल रावलले सर्वाधिक ५० रनको योगदान दिएका थिए ।

उनले एक सय सात बलमा ६ चौकाको मद्दतले ५० रन बनाएका हुन् । यसैगरी कप्तान रवीन्द्र शाहीले ४०, अर्जुन घर्तीले २३ तथा दिवान पुनले २० रन बनाए । पुलिसका लागि सागर ढकालले तीन विकेट लिँदा ललित भण्डारीले दुई तथा दीपेन्द्रसिंह ऐरी, ललितनाराण राजवंशी र कुशल भुर्तेलले समान एक-एक विकेट लिएका थिए । रासस

प्रतिक्रिया दिनुहोस