नयाँ वर्षले समृद्धिको यात्रामा लाग्ने प्रेरणा प्रदान गरोस् : पूर्व अध्यक्ष रेग्मी


काठमाडौं । मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले नयाँ वर्ष २०८१ ले हामी सबैलाई समृद्धिको यात्रामा लाग्ने प्रेरणा प्रदान गरोस भन्दै शुभकामना व्यक्त गर्नुभएको छ ।

नयाँ वर्षको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले भन्नुभएको छ, “नववर्ष २०८१ को आगमनको सुखद अवसरमा समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।”

‘विगत लामो समयदेखि आर्थिक, सामाजिक रूपान्तरण र परिवर्तनका लागि हामी नेपाली आजपर्यन्त संघर्षरत छौँ । राज्य प्रणालीको स्थायित्व कायम गर्दै जनभावनाअनुरूप शासन सञ्चालन गर्न मार्ग निर्देशन गर्ने र देशको समग्र आर्थिक सामाजिक विकासलाई नयाँ उचाइमा पुगाउन सक्ने संविधान निर्माण गर्ने उद्देश्यले संविधानसभाको निर्वाचन भयो र संविधान निर्माण पनि गरियो’ उहाँले भन्नुभयो, “केन्द्रमा सत्ता समीकरण फेरिइ रहँदा प्रदेश सरकारहरू तासका घरझैँ ढलिरहेका छन् ।

यस अवस्थामा स्थायित्व र समृद्धि कसरी गर्ने ? समय र श्रम राजनीति व्यवस्थापनमै बढी खर्च गर्नुपर्दा अन्य गतिविधि सुस्त र कामचलाउ प्रकृतिका हुने नै भए । यस अवस्थामा परिवर्तनकारी शक्तिहरु समेत सबैले गम्भीर बहस र विमर्श गर्दै आगामी लक्षित मार्ग तय गर्नु जरुरी भइसकेको छ।”

नव वर्षले नेपालीविच शान्ति, सद्भाव र एकता कायम गर्दै स्थिरता र समृद्धिको यात्रामा लाग्न सबैलाई प्रेरणा प्राप्त होस् भन्ने कामना गर्दछु । देश विदेशमा रहनुभएका सबै नेपाली दिदीबहिनी दाजुभाइमा नयाँ वर्षको शुभकामना उहाँले सन्देशमा भन्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस