आईपीएल : दिल्लीसँग हार्‍यो लखनउ


काठमाडौँ। लखनउ सुपर जायन्ट्सलाई पराजित गर्दै दिल्ली क्यापिटलले इन्डियन प्रिमियर लिग (आईपीएल) मा दोस्रो जित हासिल गरेको छ।

शुक्रबार सम्पन्न खेलमा दिल्लीले लखनउलाई ६ विकेटले पराजित गरेको हो। चेन्नई सुपर किंग्सलाई २० रनले हराएको दोस्रो जितसँगै अंक तालिका ४ अंक जोडेको दिल्लीले पुछारको स्थान छाडेको छ। चौथो स्थानमा रहेको लखनउको ६ अंक रहेको छ। लखनउले दिएको १६८ रनको लक्ष्य पछ्याएको दिल्लीले १८.१ ओभरमा ४ विकेट गुमाउँदै १७० रन बनायो।

दिल्लीका जेक फ्रेसर मक्गर्कले सर्वाधिक ५५ रन बनाए। ४८ बल खेलेका उनले २ चौका र ५ छक्का प्रहार गरे।कप्तान ऋषभ पन्त ४१ र पृथ्वी शा ३२ रनमा आउट हुँदा ट्रिस्टन स्टब्स ११ र शाइ होप ८ रनमा अविजित रहे।

लखनउका रवि बिश्वोईले २ विकेट लिँदा नवीन उल हक र यश ठाकुरको नाममा १/१ विकेट रह्यो।
त्यसअघि पहिला ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६७ रन बनाएको थियो। लखनउका कप्तान केएल राहुल ३९, क्विन्टन डि काक १९ र दीपक हुड्डा १० रनमा आउट हुँदा आयुष बदोनी ५५ र अरशद खान २० रनमा अविजित रहेका थिए।

दिल्लीका कुलदीप यादवले सर्वाधिक ३ विकेट लिए। खलील अहमदले २ विकेट लिँदा इशान्त शर्मा र मुकेश कुमारको नाममा १/१ विकेट रह्यो।

प्रतिक्रिया दिनुहोस