‘दोधारा–चाँदनीमा बन्ने सुक्खा बन्दरगाह सुदूरपश्चिमकै गौरवको योजना’

‘दोधारा–चाँदनीमा बन्ने सुक्खा बन्दरगाह सुदूरपश्चिमकै गौरवको योजना’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सङ्घीय सांसद निरुदेवी पालले दोधारा–चाँदनीमा बन्ने सुक्खा बन्दरगाह सुदूरपश्चिम क्षेत्रकै गौरवको योजना भएको बताउनुभएको छ । मङ्गलबार दोधारा–चाँदनीमा सुक्खा बन्दरगाहसम्बन्धी कार्यक्रममा उहाँले सुक्खा बन्दरगाह नेकपाकै एजेण्डा भएकाले निर्धारित समयमै बन्ने बताउनुभयो ।

“दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह बन्नुपर्छ, यो सुदूरपश्चिमको विकासका लागि हो । यो पार्टीको एजेण्डा हो”, उहाँले भन्नुभयो, “यसलाई हामी जसरी भए पनि सफल पार्छौँ ।” उहाँले दोधारा–चाँदनीको कञ्चनभोजमा सुक्खा बन्दरगाह बन्ने बताउनुभयो । त्यसका लागि अन्य सबै व्यवस्था सरकारले गर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभा सदस्य मानबहादुर सुनारले कञ्चनभोजमा सुक्खा बन्दरगाह बनाउँदा विस्थापित हुने परिवारको उचित व्यवस्थापन गरिने बताउनुभयो । “सुक्खा बन्दरगाह बनाउँदा विस्थपित हुने परिवारले कुनै चिन्ता लिनु पर्दैन”, उहाँले भन्नुभयो, “सरकारले कसैलाई पनि असहज हुने गरी काम गर्दैन, सबैको न्यायोचित व्यवस्थापन गर्छ ।”

सुक्खा बन्दरगाहले दोधारा–चाँदनी सुदूरपश्चिम प्रदेशको आर्थिक केन्द्र भएकाले सबैले एकजुट भएर सुक्खा बन्दरगाहको पक्षमा उभिनुपर्नेमा उहाँको जोड थियो । उहाँले सुक्खा बन्दरगाह बनाउँदा स्थानीयवासीलाई बिना व्यवस्थापन हटाइने भनेर गलत प्रचार गरेको उल्लेख गर्दै त्यस्ता भ्रममा नपर्न सबैमा आग्रह गर्नुभएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले विसं २०६६ मा दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह बनाउने घोषणा गर्नुभएको थियो । विसं २०७४ को निर्वाचनमा सुक्खा बन्दरगाह सञ्चालन गर्ने सत्तारूढ नेकपाको प्रमुख चुनावी एजेण्डा थियो ।