ढल्केबर। भारतको अयोध्याबाट प्रस्थान गरेको सरयुग–कमला एक्सप्रेस रेल जनकपुरधाम आइपुगेको छ। भगवान् रामको नगरी अयोध्याबाट माता सीताको नगरी जनकपुरधामसम्म सञ्चालन भएको उक्त रेल मङ्गलबार बिहान ९ः४० बजे जनकपुरधाम रेलवे स्टेसनमा पुगेको हो।
प्रधानमन्त्री वालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नयाँदिल्लीस्थित हैदराबाद हाउसबाट संयुक्त रूपमा हरियो झन्डा देखाएर रेल सेवाको उद्घाटन गर्नुभएको थियो। उद्घाटनपछि अयोध्याबाट प्रस्थान गरेको रेलमा भारतीय पक्षबाट आमन्त्रित विशिष्ट अतिथि तथा भारतीय रेलवेका अधिकारीसहित करिब एक हजार एक सय जना सहभागी छन्।
जनकपुरधाम आइपुगेका अतिथिलाई युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव, मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासलगायतले स्वागत गर्नुभयो।
स्वागतका क्रममा बटुकहरूले स्वस्तिवाचन गर्नुका साथै विभिन्न धार्मिक तथा सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिए। अतिथिको स्वागतका लागि जनकपुरधाम रेलवे स्टेसन परिसरमा विशेष कार्यक्रमसमेत आयोजना गरिएको थियो।
नेपाल रेलवे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार रेलबाट आएका अतिथिलाई जानकी मन्दिर, राम मन्दिर र जनक मन्दिरलगायत जनकपुरधामका प्रमुख धार्मिक तथा ऐतिहासिक स्थलको भ्रमण गराउने कार्यक्रम रहेको छ।
उहाँका अनुसार जनकपुरधाम रेलवे स्टेसनमा करिब तीन घण्टा रोकिएपछि अतिथिसहितको रेल पुनः भारतको अयोध्याका लागि प्रस्थान गर्नेछ।



प्रतिक्रिया