‘बाह्रखरी कथा प्रतियोगिता–२०७८’ का लागि आह्वान


बाह्रखरी बुक्सले ‘बाह्रखरी कथा प्रतियोगिता–२०७८’ (तेस्रो संस्करण) मा संसारभर रहेका नेपाली कथा लेखकलाई भाग लिन आह्वान गरेको छ । नेपाली आख्यान प्रतिभालाई प्रोत्साहन गर्न प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई अघिल्ला वर्षमा जस्तै प्रथम हुनेलाई रु एक लाख, द्वितीयलाई रु ६० हजार तथा तृतीयलाई रु ४० हजार राशिको पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिनेछ । कथा लेखनमा प्रदान गरिने यो पुरस्कार नेपालको सबैभन्दा ठूलो राशिको पुरस्कार हो ।

प्रतियोगिता २०७८ को प्रमुख निर्णायकको जिम्मेवारी आख्यानकार तथा साहित्यकार नारायण ढकालले गर्नुहुने आज आयोजित पत्रकार सम्मेलनमा बाह्रखरी टडकमका कार्यकारी सम्पादक गोविन्द अधिकारीले जानकारी दिनुभयो । निर्णायक समूहका अन्य दुई सदस्यमा स्थापित कथाकार विवश पोखरेल र समालोचक कुमारी लामा रहनुभएको छ । निर्णायक समूहले आफूलाई प्राप्त कथामध्येबाट उत्कृष्ट २५ र तिनै कथामध्येबाट प्रथम, द्वितीय तथा तृतीय कथाको छनोट गर्नेछ । निर्णायक समूहलाई छनोटका क्रममा आवश्यक सबै निर्णय लिने पूर्ण स्वतन्त्रता रहनेछ । कथा कम्तीमा १५०० र बढीमा ४००० शब्दसम्मको हुनुपर्ने तथा आउँदो भदौ ३१ सम्म प्राप्त हुनुपर्ने जनाइएको छ ।

कथा प्रतियोगिताको सर्त उल्लङ्घन नहुने गरी पठाइएका सम्पूर्ण कथामध्येबाट बाह्रखरीको आन्तरिक निर्णायक मण्डलले ५० वटा कथा छनोट गर्नेछ । ती कथा निर्णायक समूहलाई उपलब्ध गराइनेछ । आन्तरिक निर्णायक मण्डलले चुनेका ५० कथामध्येबाट निर्णायक समूहले ‘उत्कृष्ट कथा २०७८’ का लागि २५ वटा कथा छान्नेछन् र तिनैमध्येबाट प्रथम, द्वितीय र तृतीय कथाको घोषणा हुनेछ । बाह्रखरी कथाका उत्कृष्ट २५ कथाको सँगालो २०७६ सालमा पुस्तककारूपमा आएको थियो भने २०७७ सालमा कोरोना महामारीका कारण ‘डिजिटल भर्सन’मा ल्याइएको थियो । जुन बाह्रखरी डट कमबाट पनि प्रकाशित गरिएको थियो ।

यो पनि – नेप्से ओरालो, कारोबारमा कीर्तिमान

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटे पनि कारोबार रकममा भने नयाँ कीर्तिमान कायम भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २४.५७ अङ्कले घटेर तीन हजार १५४.३३ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.९० बिन्दुले घटेर ५८९.२८ मा पुगेको छ । कूल २२२ कम्पनीको तीन करोड ५५ लाख ५० हजार ६८८ कित्ता शेयर रु २१ अर्ब ६४ करोड ७६ लाख ६५५ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर उकालो लागेको छ भने १० उपसमूहको शेयर भने ओरालो लागेको छ । उत्पादन १६०.२३, लघुवित्त ११५.१२ र लगानी ०.६६ बिन्दुले उकालो लागेको छ । यस्तै, बैंकिङ ७.१५, व्यापार ३६.५, होटल तथा पर्यटन ६६.०४, विकास बैंक १६०.१३, जलविद्युत् १५७.४१, वित्त ८७.०५, निर्जीवन बीमा २२४.६२, अन्य ४०.१४, जीवन बीमा १९१.१२ र सामुूहिक लगानी कोष ०.१३ बिन्दुले घटेको छ ।

कारोबारका आधारमा आज नेपाल बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु एक अर्ब पाँच करोड ४६ लाख ७८ हजार ८१५ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी रु ७९ करोड २५ लाख ४२ हजार ८३१, अपि पावर कम्पनी रु ७० करोड २७ लाख १८ हजार ६८५, रिडी हाइड्रोपावर रु ५९ करोड ४७ लाख ४५ हजार ५९९ र अरुण भ्याली हाइड्रोपावर रु ५७ करोड ६० लाख ६७ हजार ४०३ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

तीन कम्पनीको शेयरमा सर्किट

नेप्से ओरालो लागे पनि आज तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । खानीखोला हाइड्रोपावर,जीवन विकास लघुवित्त र यूनियन लाइफ इन्स्योरेन्सको शेयरमा १० प्रतिशतले वृद्धि हुँदा सकारात्मक सर्किट लागेको छ । यस्तै आइसिएफसी फाइनान्स ९.५६ र मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकका शेयरधनीले ८.९७ प्रतिशतले कमाएका छन् ।

यसैगरी, एनआइबिएल प्रगति फण्ड ८.५४, रिडी हाइड्रोपावर ८.५२, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी ७.८८, रसुवागढी हाइड्रोपावर ६.३४ र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीका लगानीकर्ताले ६.०७ प्रतिशतले गुमाए । साताको पहिलो दिनको कारोबारपछि बजार पूँजीकरण रु ४४ खर्ब छ अर्ब सात करोड ९८ लाख ३१ हजार ८३१ बराबर पुगेको छ ।

प्रतिक्रिया दिनुहोस