महँगी बढ्दो र जनजीवन कष्टकर : केपी शर्मा ओली

महँगी बढ्दो र जनजीवन कष्टकर : केपी शर्मा ओली

साझा पेज
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले जनतालाई परिवर्तनको अपेक्षा र आकाङ्क्षा रहेकाले सोअनुसार यो सरकार र संसद्सामु जिम्मेवारी रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको पहिलो बैठकमा आज सोमबार दलको तर्फबाट सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो । प्रतिनिधिसभा समक्ष धेरै ठूलो जिम्मेवारी आइपरेको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले देश विकासको बाटोमा अग्रसर हुनुपर्ने, जनताको सेवामा अग्रसर हुनुपर्न, सामाजिक न्याय र समानतामा अग्रसर हुनुपर्ने दिशातर्फ राजनीतिलाई अघि बढाउने अभिभारा संसद्समक्ष भएको चर्चा गर्नुभयो ।

“हाम्रा अगाडि राष्ट्रियताका जिम्मेवारी छन्, सांस्कृतिक पक्षको विकासका कुरा छन्, विविधताको मात्र कुरा गरेर हुँदैन, पुर्खाले स्थापित गरेको उन्नत सामाजिक सांस्कृतिक पक्षको प्रवर्धन गर्नुपर्नेछ” उहाँले थप्नुभयो, “सांस्कृतिक मूल्य मान्यता बिर्सेमा समाज वास्तवमा समाज रहँदैन ।”

मुलुकको राजस्व ऋणात्मक अवस्थामा रहेको चर्चा गर्दै पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेता ओलीले निर्यात गर्ने वस्तु घटेको र उद्योग बन्द भएको बताउनुभयो । महँगी बढ्दो र जनजीवन कष्टकर भइरहेको अवस्थामा मुलुकलाई अगाडि बढाउने उत्तरदायित्व सरकार र सांसदसमक्ष भएको उहाँले चर्चा गर्नुभयो ।

सरकारले भोलि विश्वासको मत लिने र विश्वासको मत प्राप्त हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाई ज्ञापन गर्नुभयो । परिस्थिति सहज नभए पनि जटिलताबीच काम गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । मुलुकले परिवर्तन खोजेकाले सोहीअनुसार आफूहरूले काम गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सांसदहरू केवल सांसद हुनका लागि मात्र निर्वाचित नभएको बरु देश र जनताको पक्षमा, खुसीका निम्ति काम गर्न आएको उहाँले चर्चा गर्नुभयो । “हाम्रा अगाडि भ्रष्टाचार नियन्त्रण, सामाजिक विभेद अन्त्य गर्ने, जनताको अपेक्षा पूरा गर्ने चुनौती छ” चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो, “हामी मुख्य रूपमा लोकतान्त्रिक पद्धति र प्रक्रियाका लागि काम गर्नुपर्नेछ, बन्न पाएको छैन बिगार्नतिर लाग्यौँ भने समयको बरबादी मात्र हुन्छ ।”

अध्यक्ष ओलीले नवनिर्वाचित सांसदहरूलाई बधाई तथा संसद् बैठकमा स्वागत गर्नुभयो । सबै अग्रजप्रति सम्मान व्यक्त गर्दै उहाँले कृतज्ञताको भाव व्यक्त गर्नुभयो ।