एएमआर कार्यक्रमलाई बिचमा छाड्न पाइदैन : डा. उपाध्याय


काठमाडौं । अमेरिकी नागरिकको सहयोगबाट सञ्चालित युएसएआइडीको लगानी रहेको मेडिसिन टेक्नोलोजी एण्ड फर्मास्युटिकल सर्भिस (एमट्याप्स) कार्यक्रम नेपालमा सकिएको छ ।

करिब पाँच वर्ष सञ्चालनमा रहेको उक्त कार्यक्रमले फर्मास्युटिकल सेवाका क्षेत्रमा काम गरेको थियो । पछिल्लो सयम विश्वको चासो र चिन्ता रहेको एन्टिबायोटिक रेसिस्टेन्सका क्षेत्रमा पनि एमट्याप्सले काम गरेको थियो । एएमआरको पहिलो पिलरका रुपमा रहेको जनचेतनामूलक कार्यक्रमलाई एमट्याप्सले सफलता पूर्वक हल्लाएको थियो ।

विश्वभर कोरोनाको महामारीले कार्यक्रम ठप्प हुँदा एमट्याप्सले पनि लक्ष्य अनुसार काम गर्न सकेको थिएन । तर, पछिल्लो एक वर्षमा एमट्याप्सले सोचेको भन्दा धेरै राम्रो काम गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

विशेषगरी औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गुणस्तर मापन तथा नियमन महाशाखा, उपचारात्मक महाशाखासँग मिलेर एमट्याप्सले काम गर्दै आएको थियो । हालै एमट्याप्सले सात प्रदेशका ४ सय १५ जना भन्दा बढी पत्रकारहरूलाई एन्टिबायोटिक औषधिका बारेमा सचेतना मूलक कार्यक्रम गरेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा मदन कुमार उपाध्यायले एएमआरका क्षेत्रमा एमट्याप्सले उल्लेखनीय काम गरेको बताए । नेपालमा एमट्याप्स समापन बारे जानकारी गराउँन राखिएको एक कार्यक्रममा डा उपाध्यायले उपलब्धि मूलक कार्यक्रम भएको स्पष्ट पारे ।

एमट्याप्स कार्यक्रम समापन सँगै एएमआर कार्यक्रमले निरन्तरता पाउनेमा आशंका व्यक्त गरे । उनले यसलाई अगाडि बढाउन युएसएआइडी समक्ष आग्रह समेत गरेका छन् । यता औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकालले एमट्याप्सले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निभाएको भन्दै धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस