ओलीको कडा प्रतिक्रिया : ‘अति भयो भने हामीले जवाफी कारबाही गर्नुपर्ने हुनसक्छ’


काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफूमाथिको आक्रमणमा प्रचण्ड– माधव नेतृत्वको पार्टीको संलग्नता रहेको आरोप लगाएका छन् । आज (बिहीबार) एमाले जिल्ला अधिवेशन इलामलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले हिजो झापको भद्रपुरबाट बुधबारे कार्यक्रम स्थल जानेक्रममा भएको आक्रमणमा सत्ता गठबन्धन दलको संलग्नता रहेको आरोप लगाएका हुन् ।

‘जागिर खाएर डिउटीमा खटिएको प्रहरीको टाउको फुटाई दिने आतंककारीहरुले ? यस्तो हुन्छ राजनीति ? त्यो इनिस्पेक्टर र हवल्दारले हो कोशी नाम राखेको ? त्यसमा माधव नेपाल र प्रचण्डको पार्टीको संलग्नता देखियो,’– ओलीले भने ।

साथै, आफूहरुले कसैसँग पनि निहुँ खोज्ने र झगडा गर्ने मनसाय नराखेको उनको भनाई छ । अति भएको खण्डमा जवाफी कारबाही महँगो पर्नसक्नेसमेत उनले चेतावनी दिएका छन् । ‘हामी कसैसँग न निहु खोज्न जान्छौं, न झगडा गर्न जान्छौं । तर, अति भयो भने हामीले जवाफी कारबाही गर्नुपर्ने हुनसक्छ । त्यो अलिकति महँगो पर्नसक्छ,’– उनले भने ।

साथै, झडपमा परेर घाइते भएका प्रहरीको उपचारमा कुनै कसुर नराख्न पनि उनले सरकारलाई आग्रह गरेका छन् । सरकारले ति प्रहरीको उपचार गर्न नसके एमालेले उनीहरुको उपचारको जिम्मा लिने उनको भनाई छ । ‘सरकारले तिनीहरुको राम्रो उचार गराओस् । सरकारले राम्रो उपचार गराउँदैन भने नेकपा (एमाले) ले तिनको उपचार गराउँछ,’– ओलीले भने ।

प्रतिक्रिया दिनुहोस