दैलेख -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दैलेखमा रहेको पेट्रोलियम तथा मिथेन ग्यास खानीको उत्खनन र व्यावसायिक उत्पादन प्रक्रियालाई उच्च प्राथमिकतामा राखेर अघि बढाउने बताएका छन्।
शनिबार साँझ दैलेखको भैरवी गाउँपालिका–१, जलजलेस्थित मिथेन ग्यास अन्वेषण तथा ड्रिलिङ साइटको स्थलगत अवलोकन गर्दै लामिछानेले लामो समयदेखि रोकिएको परियोजनालाई अघि बढाउन आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका हुन्।
कर्णाली प्रदेशस्तरीय पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत पुगेका लामिछानेले प्रशिक्षण सम्पन्न भएपछि ड्रिलिङ साइटको अवलोकन गरेका थिए। त्यसक्रममा उनले परियोजनाको वर्तमान अवस्था र प्राविधिक प्रगतिबारे जानकारी लिएका थिए।
अवलोकनपछि लामिछानेले दुई वर्षअघि नै चार हजार १३ मिटर गहिराइसम्म ड्रिलिङको काम सम्पन्न भए पनि पछिल्लो एक वर्षदेखि परीक्षण प्रक्रिया रोकिएकोप्रति चिन्ता व्यक्त गरे। परीक्षणमा प्रयोग हुने करोडौँ मूल्यका संवेदनशील उपकरण संरक्षणविहीन हुँदा खिया लाग्न थालेको उनको भनाइ थियो।
‘पहिलो पटक यहाँ आएर यसको अवस्था हेरेँ। उत्पादनको आवश्यकता छँदैछ, तत्काल महँगा उपकरणको संरक्षणको पनि उत्तिकै खाँचो देखियो,’ उनले भने, ‘प्राविधिक काम कहाँ र किन अड्किएको हो, त्यसबारे थप बुझ्नुपर्छ।’
उनले लामो समयदेखि रोकिएको वेल टेस्ट (कुवा परीक्षण) र व्यावसायिक उत्पादनको प्रक्रिया अघि बढाउन सम्बन्धित मन्त्रालय तथा विज्ञहरूसँग परामर्श गर्ने बताए।
लामिछानेका अनुसार प्रयोगशाला परीक्षणबाट दैलेखमा ८० अर्ब ७० करोड घनमिटर प्राकृतिक मिथेन ग्यासको भण्डार रहेको पुष्टि भएको छ। उक्त परिमाणले नेपालको करिब ५० देखि ६० वर्षसम्मको ग्यास माग धान्न सक्ने उनको भनाइ छ। उनले यसलाई कर्णालीको आर्थिक रूपान्तरणसँग जोडिएको राष्ट्रिय महत्त्वको आयोजना भएको बताए।
नेपाल र चीनबीच भएको समझदारीअनुसार २०७६ फागुनमा विस्तृत अन्वेषण सम्झौता भएपछि ४५ रोपनी जग्गा अधिग्रहण गरेर परियोजना अघि बढाइएको थियो।
‘हामीले आमनागरिकसँग गरेको बाचा र चाहेको समृद्धिका आधार यिनै गौरवका आयोजना हुन्,’ लामिछानेले भने, ‘यसको उत्खननलाई पूर्णता दिन निरन्तर पहल रहनेछ। विस्तृत अध्ययन गरी ठोस कदम चालिनेछ।’
उनले परियोजनाको काम अघि बढे कर्णालीवासीले छिट्टै सकारात्मक परिणामको अपेक्षा गर्न सक्ने पनि बताए।
यसअघि नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले लामिछानेलाई परियोजनाको हालसम्मको प्रगति र वर्तमान अवस्थाबारे जानकारी गराएका थिए।


प्रतिक्रिया