सागमा सहभागी बक्सिङ खेलाडीको कोरोना बीमा


काठमाडौंँ, १० भदौ  । गत वर्ष नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकूद (साग) मा सहभागी बक्सिङ खेलाडीको कोरोना बीमा गरिएको छ । सागमा सहभागी बक्सिङका १६ खेलाडी तथा दुई प्रशिक्षकको बीमा गरिएको हो ।

पूर्व बक्सिङ खेलाडी एवं नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य ओमनारायण श्रेष्ठले व्यक्तिगत खर्चमा १८ जनाको जनही रु एक लाखका दरले बीमा गर्नुभएको हो । विसं २०७६ मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा आयोजना गरिएको १३औँ सागमा नेपालबाट १० पुरुष र छ महिला बक्सिङ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

नेपालले प्रतियोगितामा बक्सिङतर्फ तीन स्वर्ण, छ रजत र छ कास्य पदक प्राप्त गरेको थियो । सागमा सनिल शाही, भूपेन्द्र थापा र मीनु गुरुङले स्वर्ण जितेका थिए । यस्तै गणेश प्रधान, आशिष दुवाडी, ललिता महर्जन, माला राई, संगीता सुनार र पुनम रावलले रजत तथा विकास लामा, अर्जुन सिगु, सुशील थापा, तेजबहादुर देउवा, पुरन राई र चन्द्रकला थापाले कास्य पदक प्राप्त गरेका थिए ।

सागमा सहभागी खेलाडीलाई प्रशिक्षण दिएका बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापा मगर र प्रवीण तुलाधरको पनि बीमा गरिएको पुर्व बक्सिङ खेलाडी श्रेष्ठले जानकारी दिनुभयो । कोरोना भाइरसको महामारीको समयमा खेलाडी र प्रशिक्षकको ज्यान जोखिममा भएकाले बीमा गरिदिएको उहाँले बताउनुभयो । बीमा पोलिसी एकमुष्ट रुपमा प्रमुख प्रशिक्षक थापा मगरलाई हस्तान्तरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस